निर्यातमा नेपालको ऐतिहासिक वृद्धि

काठमाडौं। भन्सार विभागका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। सोही अवधिमा देशबाट २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८१.८० प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएको थियो।

यता आयात पनि अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा यो वर्ष त्यो बढेर १८ खर्ब नाघेको हो। निर्यात र आयात दुवै बढे पनि व्यापार घाटा झनै चुलिएको छ। अघिल्लो वर्षको १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँको तुलनामा, २०८१/८२ मा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ पुगेर ६ प्रतिशतले वृद्धि भएको छ।