आज तीन संसदीय समितिको बैठक, मानव अधिकार, महिला श्रम र मिडिया काउन्सिलमाथि छलफल हुने

काठमाडौँ । आज (साउन ६ गते) तीन वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार यी बैठकहरूमा मानव अधिकार, वैदेशिक रोजगारीमा रहेका महिला कामदारको अवस्था, र मिडिया काउन्सिलसम्बन्धी विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा 'विश्वव्यापी आवधिक समीक्षा (UPR) सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल' गरिनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था’ विषयमा छलफल गरिनेछ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ। सो बैठकमा 'मिडिया काउन्सिल विधेयक'मा संशोधन प्रस्ताव पेस गरेका सदस्यहरूसँग छलफल हुने बताइएको छ।