काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज साउन ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ।
कम्पनीले तनहुँ र गोरखा जिल्लाका आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयहरूलाई लक्षित गरी ५ लाख ५६ हजार कित्ता शेयर निष्काशन गरेको हो। यस अन्तर्गत तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ र गोरखा जिल्लाको पालुंगटार नगरपालिका वडा नम्बर ७ का स्थानीयले आवेदन दिन सक्नेछन्।
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदनको अवधि साउन २० गतेसम्म रहनेछ, तर सो अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ ४ गतेसम्म म्याद थप हुनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीका लागि ५ लाख २९ हजार ४ सय कित्ता शेयर छुट्याइएको छ। यस समूहका लागि आवेदन दिने अन्तिम म्याद साउन ९ गतेसम्म रहेको छ। उनीहरूले पनि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने छन्।
कम्पनीले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्नेछ। नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति दिएको हो। यस निष्काशनको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले तनहुँमा केवलकार र होटेल सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले डुम्रेबजार नजिकको केवलकारचोकबाट बन्दीपुर मन्दिरसम्म १,७०० मिटर दूरीको यात्रालाई केवल ७ मिनेटमै पार गर्न सकिने व्यवस्था मिलाएको छ।