शेयर बजार २१.७६ अंकले उकालो, १६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.७६ अंकले वृद्धि भई २८९२ विन्दुमा बन्द भएको हो। आज १५३ कम्पनीका शेयर मूल्यमा वृद्धि भएको छ भने ९६ कम्पनीका शेयर घटेका छन्। सबै उपसूचकहरू हरियालीमा रहे, जसमा सबैभन्दा धेरै १.९३ प्रतिशतको वृद्धिसहित माइक्रोफाइनान्स इन्डेक्स अगाडि देखियो।

कुल ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १६ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ।नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँको कारोबारसहित आज सर्वाधिक कारोबार भएको कम्पनी बन्यो। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख र बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले कमाएका छन्। ट्रेड टावर कम्पनी र सान्भी इनर्जीका लगानीकर्ताले पनि क्रमशः ९.९८ प्रतिशतका दरले लाभ उठाएका छन्। उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले ९.४० प्रतिशत लाभ कमाएका छन्।

दोस्रो तर्फ, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले सर्वाधिक घाटा व्यहोरेका छन्।