काठमाडौँ। आन्तरिक राजस्व कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्ब ५८ करोड रुपैयाँले बढी हो भने वृद्धिदर ३५.५७ प्रतिशत रहेको कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले बताए। आन्तरिक राजस्व विभागले आठ अर्ब ७१ करोडको लक्ष्य तोकेकोमा कार्यालयले एक सय नौ प्रतिशत राजस्व संकलन गर्दै ‘एक प्लस’ स्तर प्राप्त गरेको छ।
कार्यालयले बक्यौता असुली कडाइ, चैत महिनामा कर नतिर्ने करदाताको खाता, घरजग्गा तथा आयात–निर्यात रोक्का गर्नेजस्ता कदम चाल्दै राजस्व संकलनमा सफलता पाएको हो। साथै, सघन बजार अनुगमन, करदाता शिक्षामूलक कार्यक्रम र चेतनामूलक अभियानले पनि संकलन वृद्धि गर्न सघाएको चौलागाईँको भनाइ छ।
अन्तःशुल्क, आयकर र मूल्य अभिवृद्धि करमध्ये अन्तःशुल्क र आयकरतर्फको संकलन लक्ष्यभन्दा बढी भए पनि मूल्य अभिवृद्धि करतर्फ भने लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन। चौलागाईँका अनुसार यहाँका १५ ठूला करदाताको कारोबार सीमा नाघेर अन्य कार्यालयमा सरुवाले गर्दा मूल्य अभिवृद्धि कर लक्ष्यमा असर परेको हो।