काठमाडौं महानगरको छात्रवृत्ति परीक्षा: १० हजार ८६७ उत्तीर्ण, करिब ४ हजार ५ सयलाई छात्रवृत्तिको अवसर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार सम्पन्न परीक्षामा सहभागी भएका १४ हजार १७३ विद्यार्थीमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेका अनुसार, तीमध्ये करिब ४ हजार ४९९ जनाले छात्रवृत्तिको अवसर प्राप्त गर्ने अनुमान गरिएको छ।

संकाय अनुसार तोकिएको कोटा फरक–फरक रहेकामा शिक्षा संकायमा २५ कोटामध्ये १९ जना, मानविकीमा ११९ कोटामध्ये ६ जना, कानुन संकायमा १०५ कोटामा १३५ जना, व्यवस्थापनमा २ हजार ३१९ कोटामा १ हजार ९५७ जना र विज्ञान संकायमा १ हजार ९३१ कोटामा ८ हजार ७५० जना विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान संकायमा उत्तीर्णमध्ये ३ हजार २८८ छात्रा, ५ हजार ४६० छात्र र २ जना अन्य लिङ्गका रहेका छन्।

उत्तीर्ण विद्यार्थीहरूले काठमाडौं महानगर क्षेत्रभित्रका १६१ वटा निजी विद्यालयमध्ये आवेदन फारम भर्दा प्राथमिकतामा राखिएको विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्। अध्ययन विषय पनि आवेदन भर्ने बेलामा नै छनोट गरिएको विषयअनुसार हुनेछ।

नतिजामा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्म पुनर्योग गर्न सक्नेछन्। पुनर्योगको नतिजा सार्वजनिक भएपछि मात्र छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरूको नामांकन सूची प्रकाशित हुनेछ। पहिलो चरणमा नाम परेको विद्यार्थीले तीन दिनभित्र तोकिएको विद्यालयमा भर्ना हुनुपर्नेछ। समयमै भर्ना नभए बाँकी सिटका लागि दोस्रो चरणको नामांकन प्रक्रिया सुरु हुनेछ। दोस्रो चरणपछि पनि सिट खाली रहेमा विषय परिवर्तन गर्न चाहने विद्यार्थीलाई समावेश गरिनेछ।

काठमाडौं महानगरपालिकाले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच दिन हरेक वर्ष छात्रवृत्ति परीक्षा सञ्चालन गर्दै आएको छ।