धान रोपाइँमा ढिलाइ: साउन ४ सम्म ७२.१४ प्रतिशत मात्रै सम्पन्न, मधेसमा सबैभन्दा कम

काठमाडौं। देशभर साउन ४ गतेसम्म ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको ८४.६ प्रतिशतभन्दा झन्डै १२ प्रतिशत कम हो। कृषि विभागका अनुसार यस वर्ष १३ लाख ८३ हजार ७३२ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ भने हालसम्म नौ लाख ९८ हजार हेक्टर जमिनमा रोपाइँ भइसकेको छ।

सुदूरपश्चिममा ९७ प्रतिशत रोपाइँ भइसकेको छ भने कर्णाली, लुम्बिनी र बागमतीमा समान रूपमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गण्डकीमा ७९.२८ प्रतिशत, कोशीमा ६१.७९ प्रतिशत र मधेस प्रदेशमा मात्र ४६.८३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

जल तथा मौसम विज्ञान विभागले मधेस र कोशीका दक्षिणी भागमा औसत वा कम वर्षा हुने अनुमान गरेसँगै रोपाइँ प्रभावित भएको जनाइएको छ। मधेसमा वर्षा अभावका कारण धान रोपाइँमा समस्या देखिएको छ र प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा समेत गरिसकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन टोली खटाएको छ।