आज तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बजारबाट खिच्दै

काठमाडौं । बजारमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार (साउन ४ गते) ५० अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिन अवधिको लागि ‘निक्षेप संकलन बोलकबोल’ उपकरण प्रयोग गरी उक्त रकम संकलन गर्न लागेको हो।

यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन पाउने छन्। निक्षेप संकलनको बोलकबोल प्रतिस्पर्धात्मक ब्याजदरमा हुनेछ, जसमा बहुब्याजदरका साथ बहुबोलकबोल गर्न सकिने व्यवस्था छ। सहभागी संस्थाले आफुले जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म उल्लेख गरेर) राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ।

बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम रकम ५ करोडको गुणांकोंमा तोक्नुपर्नेछ, जसअनुसार राष्ट्र बैंकले प्राप्त बोलकबोलको आधारमा ६० अर्ब रुपैयाँसम्म वा सोभन्दा बढी वा कम रकम समेत संकलन गर्न सक्नेछ।

के हो निक्षेप संकलन?

निक्षेप संकलन राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता अस्थायी रूपमा प्रशोचन गर्न प्रयोग गर्ने एक मौद्रिक उपकरण हो। यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाबाट प्रतिस्पर्धात्मक ब्याजदरको आधारमा निश्चित अवधिको लागि निक्षेप संकलन गरिन्छ। आवश्यकताअनुसार यो कार्य बोलकबोलमार्फत वा पूर्वनिर्धारित दरमा पनि गर्न सकिन्छ।

बोलकबोलको क्रममा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइन्छ र मागअनुसार क्रमशः बाँडफाँड गरिन्छ। समान ब्याजदर भएका बोलहरूबाट कुल रकम बढी भएमा Pro-rata आधारमा बाँडफाँड गरिन्छ।

यसरी संकलन गरिने निक्षेप सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा पर्ने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइँदैन। तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात (SLR) तथा तरलता अनुपातमा (Liquidity Ratio) भने गणना गर्न सकिनेछ।