काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई नयाँ अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेसँगै उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढीको अनुभव रहेको छ। राष्ट्र बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका उनले पछिल्लो समय निर्देशकको रूपमा कार्य गरेका थिए। उनले वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन प्रणालीसम्बन्धी गहिरो ज्ञान र अनुभव हासिल गरेका छन्।
नवनियुक्त अध्यक्ष ढकाललाई बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल, व्यवस्थापन समिति पदाधिकारी, कम्पनी सचिव प्रमोद अधिकारी तथा सीईओ कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए।
विसं २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ३०९ शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ। करिब ४७ लाखभन्दा बढी सेवाग्राही रहेको बैंकले प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवामा केन्द्रित हुँदै आफ्नो सेवा समयसापेक्ष बनाउँदै आइरहेको छ।