काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्कालका लागि ५ अर्ब रुपैयाँ ऋण लिने भएको छ। निर्माण कम्पनीहरूलाई ठेक्कासम्बन्धी भुक्तानी, वनसँगको दायित्व लगायतका खर्च जुटाउन प्राधिकरणले हाललाई ५ अर्ब र निकट भविष्यमा थप ५ अर्ब रुपैयाँ ऋण लिने योजना बनाएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयबाट स्वीकृति पाएपछि ५ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाइएको छ। उनले जानकारी दिएअनुसार प्राधिकरणले प्रस्ताव गरेको १० अर्ब ऋण लिन मन्त्रालयहरूबाट अनुमति भइसकेको छ। पहिलो चरणमा ५ अर्ब लिइएपछि, एक महिनाभित्रै दोस्रो चरणको ५ अर्ब पनि लिने तयारी छ।
हाल नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडले ऋण दिनका लागि प्रस्ताव बुझाइसकेका छन्। ‘अब ती प्रस्तावहरूको मूल्याङ्कन गर्न शुक्रबार मूल्याङ्कन समिति बनाउँदैछौं,’ शाक्यले भने, ‘सबै प्रस्तावहरूको तुलनात्मक अध्ययन गरेर न्यून ब्याजदर प्रस्ताव गर्ने बैंकसँग ऋण सम्झौता गर्छौं।’
शाक्यका अनुसार हाल प्राधिकरणको दायित्व करिब १४ अर्ब रुपैयाँ हाराहारीमा रहेको छ। त्यसलाई दुई चरणमा ऋण लिएर भुक्तानी गर्ने नीति बनाइएको हो। ‘आजभोलिमै पहिलो चरणको ५ अर्ब लिएर तिर्नेछौं, अर्को ५ अर्ब पनि एक महिनाभित्र लिन्छौं,’ उनले बताए।