सान्भी इनर्जीको शेयर आइतबारदेखि नेप्सेमा कारोबार हुने

काठमाडौं । सान्भी इनर्जीको शेयर आउँदो आइतबार (साउन ५ गते) देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार हुने भएको छ। कम्पनीको शेयर आज नेप्सेमा सूचीकृत भएसँगै दोस्रो कार्यदिनदेखि कारोबार खुल्ने प्रक्रिया अनुसार आइतबारबाट कारोबार सुरु हुन लागेको हो।

नेप्सेले सान्भी इनर्जीलाई ‘SANVI’ संकेत नाम प्रदान गरेको छ। कम्पनीका कुल ८८ लाख कित्ता शेयर सूचीकृत गरिएको छ, जसमा ५० लाख १० हजार कित्ता संस्थापक समूह (५६.९३ प्रतिशत) र ३७ लाख ९० हजार कित्ता सर्वसाधारण समूह (४३.०७ प्रतिशत)का छन्।

प्रथम कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम मूल्य १२०.७४ रुपैयाँ र अधिकतम ३६२.२२ रुपैयाँको मूल्य रेन्ज तोकेको छ। यदि आइतबार स्पेसल प्रिओपन सेसनमा यही रेन्जभित्र शेयरको मूल्य तय भएमा त्यसपछि नियमित सत्रमा पनि कारोबार खुल्नेछ।

सान्भी इनर्जीले जेठ ९ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। उक्त आईपीओको बाँडफाँट भने जेठ २६ गते नेपाल एसबीआई मर्चेन्टको कार्यालयमा सम्पन्न भएको थियो।