काठमाडौँ । नेपाल एसबिआई बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिन आज साउन १ गते अन्तिम दिन हो। बैंकले असार ३० गतेदेखि '७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०' नामक ऋणपत्र बिक्री खुला गरेको थियो। १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत ब्याजदरयुक्त उक्त ऋणपत्र प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा कुल ३ अर्ब रुपैयाँ बराबरको रहेको छ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत रुपमा र बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँका १२ लाख कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको भागमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। नबिल इन्भेष्टमेन्ट बैंकिङ ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा रहेको छ।