किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन

काठमाडौँ । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। अफ्रिकी मुलुक तान्जानियामा सोमबारदेखि सुरु भएको विश्व प्रेस काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ उपाध्यक्षमा चयन भएका हुन्। उनी यसअघि विश्व प्रेस काउन्सिलका महासचिव थिए।

श्रेष्ठको प्रस्ताव भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डाले गरेका थिए भने समर्थन जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गाले गरेका थिए। सम्मेलनले केन्याका डेभिड ओम्ओयोलाई अध्यक्ष, साइप्रसका अलि हान्सेर्लीलाई अर्को उपाध्यक्षमा चयन गरेको छ।

त्यस्तै, महासचिवमा तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा, कोषाध्यक्षमा टर्कीका तामेर अताबारुत, अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो चयन भएका छन्। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। सम्मेलनमा नेपालसहित २६ देशका प्रतिनिधिहरू सहभागी छन्। सम्मेलन शुक्रबारसम्म चल्नेछ।