उन्नति सहकार्य लघुवित्तको विशेष साधारणसभा साउन १७ गते

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १७ गते विशेष साधारणसभा आह्वान गरेको छ। सभामा संस्थापक तथा सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात हेरफेरसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।

कम्पनीले संस्थापकतर्फको शेयर स्वामित्वलाई ६२.४१ प्रतिशत र सर्वसाधारणतर्फको स्वामित्वलाई ३७.५९ प्रतिशत कायम गर्ने गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने तयारी गरेको हो।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायले कुनै संशोधन, परिवर्तन वा परिमार्जन गर्न निर्देशन दिएमा त्यसअनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव समेत सभामा पेश गरिनेछ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, साउन ६ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।