काठमाडौं । सरकारले बहुमूल्य धातु तथा वस्तुको कारोबारमा अब अनिवार्य रूपमा विद्युतीय भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरेको छ। आन्तरिक राजस्व विभागले हालै जारी गरेको “बहुमूल्य धातु वा वस्तु कारोबार निर्देशिका, २०८२” मार्फत सुन, चाँदी, डायमण्ड, रुबी, इमेराल्ड, प्लाटिनम, र अन्य मूल्यवान पत्थर तथा धातुको कारोबारमा डिजिटल भुक्तानीलाई प्राथमिकता दिन स्पष्ट व्यवस्था गरेको हो। कारोबार गर्दा व्यवसायीले आफ्नो नाममा रहेको बैंक खातामार्फत मात्र कारोबार गर्नुपर्नेछ, र व्यक्तिगत वा तेस्रो पक्षको खाता प्रयोग गर्न पाइने छैन।
निर्देशनअनुसार एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्दा ग्राहक वा निजको परिवारको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ। ग्राहक पहिचानका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र वा नागरिक एपमार्फत अभिलेख जाँच गर्न सकिने व्यवस्था गरिएको छ। साथै, उच्च पदस्थ, जोखिमयुक्त वा सूचीकृत व्यक्तिसँग कारोबार गर्दा वास्तविक धनीको पहिचानसमेत पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको छ। यो व्यवस्थाले सुनचाँदी लगायतको कारोबार पारदर्शी बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।