शाइन रेसुङ्गा बैंकको ऋणपत्र आजदेखि बिक्रीमा, ८% ब्याजदर

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज (असार ३२ गते) देखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र रू. १,००० अंकित मूल्यका १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो, जसको कुल मूल्य १ अर्ब रुपैयाँ बराबरको छ।

उक्त ऋणपत्रमध्ये ६ लाख कित्ता संस्थागत तथा विशेष लगानीकर्ताहरूलाई निजी ढंगबाट बिक्री गरिनेछ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरिएको हो। सर्वसाधारणका लागि छुट्याइएको कित्तामध्ये २० हजार कित्ता म्युचुअल फण्डहरूका लागि आरक्षित गरिएको छ।

यस ऋणपत्रमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद साउन ४ गतेसम्म रहनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा बिक्री अवधि साउन १४ गतेसम्म लम्ब्याइनेछ।

१० वर्ष अवधिको यस ऋणपत्रमा शाइन रेसुङ्गा बैंकले वार्षिक ८ प्रतिशत ब्याज दिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा एनआईएमबि एस क्यापिटल लिमिटेडले लिएको छ।