काठमाडौं । साउन महिनाका लागि २० संचालनमा रहेका वाणिज्य बैंकहरूमध्ये १४ वटा बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। चार बैंकले ब्याजदर यथावत राखेका छन् भने दुई बैंकले सामान्य वृद्धिसहित दर समायोजन गरेका छन्।
ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कृषि विकास बैंक, कुमारी बैंक, नेपाल एसबिआई, सानिमा, सिटिजन्स, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल, प्राइम, एनआईसी एशिया, एभरेष्ट, राष्ट्रिय वाणिज्य र प्रभु बैंक रहेका छन्।
यीमध्ये प्रभु बैंकले सबैभन्दा धेरै — १.८५ प्रतिशत बिन्दुले — ब्याजदर घटाएको हो। अब प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ४.२५ प्रतिशत र संस्थागत मुद्दतीमा अधिकतम ३.२५ प्रतिशत ब्याज दिनेछ, जुन बैंकको इतिहासमा सबैभन्दा न्यून दर हो। ब्याजदर स्थिर राख्ने बैंकहरूमा माछापुच्छ्रे, ग्लोबल आइएमई, सिद्धार्थ र एनएमबि बैंक छन्।
यस विपरीत, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले ब्याजदर वृद्धि गरेका छन्। स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत मुद्दती ब्याजदर ६.२५ बाट ६.२६ प्रतिशत बनाएको छ भने हिमालयन बैंकले उक्त दर ५.५ बाट ६ प्रतिशतमा पुर्याएको छ।
सामान्य औसतमा, साउन महिनाको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६९ प्रतिशतमा झरेको छ, जुन असारको ५.९० प्रतिशतभन्दा ०.२१ बिन्दुले कम हो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याज ४.११ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा ०.२६ बिन्दुले घटेको हो।