बैंकहरूकाे ११ महिनामा झन्डै ५४ अर्ब नाफा, नबिल अगाडि, कुमारीमा सर्वाधिक गिरावट

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कूल ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशतले कम हो। अघिल्लो वर्ष ११ महिनामा ती बैंकहरूले ५६ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। हालको समीक्षामा बैंकहरूको नाफा प्रदर्शन मिश्रित देखिएको छ। केही बैंकको नाफा उल्लेख्य रूपमा बढेको छ भने केहीको नाफामा उल्लेखनीय गिरावट आएको छ।

सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ। बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.१० प्रतिशतले मात्रै बढी हो। ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहँदै ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ, जसमा १८.५९ प्रतिशतको वृद्धि देखिएको छ।

तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहँदा उसले ५ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २९.८३ प्रतिशतले बढेको हो। एभरेष्ट बैंक चौथो स्थानमा रहँदै ४ अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। बैंकको नाफा २८ प्रतिशतले बढेको देखिन्छ। नाफा वृद्धिदरको हिसाबले नेपाल बैंक अग्रस्थानमा छ। बैंकको नाफा १८५.२७ प्रतिशतले उक्लिंदै ३ अर्ब ७ करोड ६ लाख रुपैयाँ पुगेको छ।

अन्य बैंकहरूमा माछापुच्छ्रे (१७.५३%), एनएमबि (९.१८%), लक्ष्मी सनराइज (८.६३%) र सानिमा बैंक (३.१३%) को नाफा पनि वृद्धिमा देखिएको छ। तर, केही बैंकको नाफामा उल्लेखनीय गिरावट देखिएको छ। कुमारी बैंकको नाफा ७७.८४ प्रतिशतले घट्दै ३७ करोड १० लाख रुपैयाँमा झरेको छ। त्यसैगरी, हिमालयन बैंक (६७.२७%), एनआईसी एशिया (६२.८८%), कृषि विकास बैंक (३९.८५%), राष्ट्रिय वाणिज्य बैंक (२८.०९%), प्रभु बैंक (२३.८०%), सिटिजन बैंक (१९.६६%) र प्राइम बैंक (१८.२९%) को नाफा घटेको छ।

स्ट्यान्डर्ड चार्टर्डको नाफा ९.७० प्रतिशतले, नेपाल एसबिआईको ६.९६ प्रतिशतले, र सिद्धार्थ बैंकको नाफा २.२९ प्रतिशतले घटेको देखिएको छ। यो मिश्रित नाफा परिणामले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धात्मक अवस्था र ब्याजदर, कर्जा प्रवाह तथा सञ्चालन लागत जस्ता पक्षहरूले नाफामा प्रत्यक्ष असर पारिरहेको देखाउँछ।