काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव परेको छ। मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको हो।
नेप्से परिसूचक आज २९ अंकले बढेर २७६०.८० को विन्दुमा उक्लिएको छ। यो दिन नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। आज लघुवित्त समूह सर्वाधिक ३.५० प्रतिशतले बढ्दा जलविद्युत समूह सर्वाधिक ०.८३ प्रतिशतले घटेको छ। बजारमा आज १५८ वटा कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ९० वटा कम्पनीको शेयरभाउ घटेको छ। आज बजारमा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआईसी एसिया बैंकको भएको छ।