बुङ्गल हाइड्रोले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ  निष्काशन आजबाट सुरु गर्यो

 काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले आज (असार २९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सुरु गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँ चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न पाउने अनुमति पाएको हो। यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित बझाङ्ग जिल्लाका बुङ्गल नगरपालिका क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। त्यसमध्ये ६५ प्रतिशत अति प्रभावित वडा नं. ६ र ७ का बासिन्दाका लागि तथा ३५ प्रतिशत सामान्य प्रभावित वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाका लागि हुनेछ।

यससँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता शेयर निष्काशन गरिँदैछ, जुन कुल आईपीओको १० प्रतिशत हो। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा साउन ११ र ढिलोमा साउन २६ गतेसम्म खुला हुनेछ भने वैदेशिक रोजगारमा रहेका नेपालीले साउन ११ भित्र आवेदन दिनुपर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले 'CARE-NP B' इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले औसत स्तरको जोखिम संकेत गर्दछ। १०.७ मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीको परियोजनामा ३ अर्ब २ करोडभन्दा बढी लगानी गरिएको छ।