विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड आजका लागि तय

काठमाडौँ  ।  विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज आइतबार बाँडफाँड हुदैछ। बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा ८.७ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा २१ लाख २० हजार ८ सय ७५ जना आवेदकले २ करोड ५६ लाख २७ हजार १ सय १० कित्ताको लागि आवेदन दिएका हुन् । यद्यपि यो प्रारम्भिक तथ्यांक हो ।

कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाउने छन् । बाँकि आवेदक भने हात खाली हुने छन् ।