काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिता वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यो कर्जा कार्यक्रमलाई थप परिणाममुखी र प्रभावकारी बनाउने घोषणा गरेको हो।
गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै विगतमा सहुलियतपूर्ण कर्जा योजनाहरू अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन्। उनले आगामी वर्षदेखि यस्ता योजनाको सदुपयोग सुनिश्चित गर्न राष्ट्र बैंकले निर्णायक भूमिका खेल्ने स्पष्ट पारे।
सहुलियतपूर्ण कर्जा मुख्यतया कृषि, उद्यमशिलता, शिक्षा, युवा तथा महिला उद्यम विकासजस्ता क्षेत्रमा लक्षित रहँदै आएको छ। तर, कर्जा समयमै प्रवाह नहुनु, कमजोर अनुगमन र वास्तविक लाभग्राहीसम्म नपुगेको गुनासोहरू बढेपछि केन्द्रीय बैंकले कार्यान्वयन सुधारमा ध्यान केन्द्रित गर्ने संकेत दिएको हो।