काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको नयाँ भवनबाट दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका हुन्।
मौद्रिक नीति सार्वजनिक गर्नु अघि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर नीति पारित गरिनेछ। बैंकिङ प्रणालीमा खर्बौं रुपैयाँको लगानीयोग्य रकम रहेकाले कर्जा प्रवाहलाई प्रोत्साहित गर्ने गरी यसपटकको मौद्रिक नीति विस्तारमुखी हुने संकेत गरिएको छ।
साथै, बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले पेश गरेका सुझावहरू पनि नीतिमा समेटिनेछन्। बैंक तथा वित्तीय संस्थालाई नयाँ लाइसेन्स वितरण सम्बन्धी व्यवस्था पनि मौद्रिक नीतिमा समावेश हुने अनुमान गरिएको छ। यसअघि गभर्नर पौडेलले संसदको अर्थ समितिको बैठकमा नयाँ लाइसेन्स खोल्नुपर्ने धारणा राखिसकेका थिए।
यस्तै, निजी क्षेत्रका व्यवसायीहरूले उठाउँदै आएका मागअनुसार चालू पूंजी कर्जा मार्गदर्शनमा थप संशोधनको सम्भावना पनि मौद्रिक नीतिमा रहेको छ।डा. विश्वनाथ पौडेल गभर्नर नियुक्त भएपछि ल्याइने यो उनको पहिलो मौद्रिक नीति हुनेछ।