स्वस्तिक लघुवित्तको पहिलो चरणको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार २७ गतेदेखि आफ्नो पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपाली नागरिकहरूलाई लक्षित गर्दै सेयर निष्काशन सुरू गरेको हो।

यस चरणमा कम्पनीले कुल २३ हजार १ सय कित्ता सेयर निष्काशन गर्दैछ। इच्छुक वैदेशिक रोजगारीकर्मीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म दिन सकिने व्यवस्था गरिएको छ। आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्टले लिएको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो। स्वस्तिक लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने योजना सार्वजनिक गरिसकेको छ।

कम्पनीले २०८० माघ २४ गते बोर्डमा आवेदन दिएको थियो भने करिब १७ महिनापछि अनुमति पाएको हो। मधेश प्रदेश कार्यक्षेत्र रहेको कम्पनीको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।