एक वर्षमै अर्थतन्त्रमा  ४ खर्बले  वृद्धि, १८ आर्थिक सूचक सकारात्मक

काठमाडौं । मुलुकको अर्थतन्त्र एकै वर्षमा ४ खर्बले वृद्धि भएको छ। अर्थ मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा ५७ खर्ब रहेको मुलुकको अर्थतन्त्र चालु आर्थिक वर्षमा ६१ खर्ब पुगेको छ। मन्त्रालयले लगानीमैत्री वातावरण, नीतिगत सुधार र आन्तरिक आर्थिक गतिविधिको सक्रियतालाई यो वृद्धिको मुख्य कारण मानेको छ।

राजस्व संकलनमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्षको तुलनामा १ खर्ब ८ अर्बले राजस्व बढेको छ भने पुँजीगत खर्च पनि ३६ अर्बले वृद्धि भएको मन्त्रालयको भनाइ छ। निजी क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको ५.६ प्रतिशतको तुलनामा यो वर्ष ८.७ प्रतिशतले बढेको छ। यस्तै, रेमिट्यान्स आप्रवाहमा १५.५ प्रतिशतको वृद्धि भएको छ भने निर्यातमा ७७.८ प्रतिशतले उकालो लागेको देखिएको छ। आयातमा पनि १३.१ प्रतिशतले वृद्धिको संकेत गरिएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणमा आधारित १८ वटा आर्थिक सूचकहरू सकारात्मक देखिएका छन्। तीमध्ये यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, सूचना प्रविधि, कृषि तथा वन लगायतका क्षेत्र प्रमुख हुन्। नीतिगत सुधारका रूपमा विभिन्न ऐन संशोधन गरिएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, व्यवसायिक वातावरण सुधार ऐन, निजीकरण ऐन, भन्सार महसुल ऐन र बैंकिङ कसुर तथा सजाय ऐन जस्ता कानूनी सुधार अगाडि बढाइएको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुनु मन्त्रालयको अर्को उपलब्धिका रूपमा उल्लेख गरिएको छ। 

त्यस्तै, उच्चस्तरीय आर्थिक सुझाव तथा सुधार आयोग गठन, निजी क्षेत्रका गुनासा सुन्ने प्रयास, निर्माण क्षेत्रका समस्या समाधान र अघिल्लो वर्षको ३० अर्बभन्दा बढी दायित्व भुक्तानीलगायतका उपलब्धिहरू पनि मन्त्रालयले औंल्याएको छ। तर मन्त्रालयले अझै लक्ष्यअनुसारको राजस्व संकलन, पुँजीगत खर्चमा पर्याप्त वृद्धि र ग्रे लिस्टबाट बाहिरिनु पर्ने चुनौती बाँकी रहेको पनि स्पष्ट पारेको छ।