काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना लाखौं ग्राहकहरूलाई स्थायी लेखा नम्बर (प्यान) खातामा अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले कर प्रशासन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यो अभियान सञ्चालनमा ल्याएको हो। अब ग्राहकहरूले घरमै बसेर वा मोबाइलमार्फत सहज रूपमा प्यान अपडेट गर्न सक्नेछन्। यसका लागि बैंकले आफ्नो विशेष पोर्टल panupdate.nicasiabank.com तथा एनआईसी एशिया मोबैंक मोबाइल एपमा रहेको "प्यान अपडेट" सुविधा प्रयोग गर्न सकिने जनाएको छ।
डिजिटल माध्यम प्रयोग गर्न गाह्रो हुने ग्राहकहरूका लागि नजिकको शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।प्यान अद्यावधिक गरेपछि ग्राहकको ब्याजमा लाग्ने कर स्वतः E-TDS प्रणालीमा अपडेट हुनेछ। यसले आयकर अनुसूची १० अनुसार स्वचालित कर विवरण मिलान गराउने छ, जसका कारण कर प्रमाणपत्र र चुक्ता प्रमाणपत्र सहजै प्राप्त गर्न सकिनेछ। यसले ग्राहकलाई बैंक शाखामा धाउनुपर्ने झन्झटबाट मुक्ति दिलाउने बैंकको विश्वास छ।
बैंकले थप जानकारी दिँदै भनेको छ कि यदि ग्राहकले समयमै प्यान अद्यावधिक नगरेको कारण E-TDS मार्फत ब्याज कर दाखिला हुन सकेन वा पछि कर समायोजन गर्नुपरेमा त्यसको जिम्मेवारी ग्राहक स्वयंले लिनुपर्नेछ।