काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडले साउन २३ गतेका लागि २९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन १ गतेसम्म कायम रहने शेयरधनीहरूलाई साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य बनाउँदै साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका आर्थिक विवरणहरू पारित गरिनुका साथै आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्तिसम्बन्धी प्रस्तावहरू प्रस्तुत हुनेछन्।
१८ प्रतिशत बोनस र नगदसहित कुल १८.९४% लाभांश प्रस्ताव
कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट हालको चुक्ता पूँजीमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश गरी कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ। बोनस शेयर वितरण गर्दा दशमलव पछिका अंशलाई पछि समायोजन गरिने जानकारी कम्पनीले दिएको छ।
४७ प्रतिशत हकप्रद र प्रबन्ध पत्र संशोधन प्रस्ताव पनि पेश हुने
साधारणसभामा विशेष प्रस्तावस्वरूप कम्पनीले बोनस वितरणपछि कायम हुने पूँजीको ४७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि राखेको छ। यसअघि ५०.१५ प्रतिशत हकप्रद प्रस्ताव गरिएकोमा पूँजीमा परिवर्तन हुने भएकाले संशोधन प्रस्ताव ल्याइएको हो। साथै, कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन र आवश्यक परेमा थप परिवर्तन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।