बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा तीव्रता ल्याउन मन्त्री दाहालको आदेश

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षति पुर्‍याएका सडक, पुललगायत संरचनाको पुनर्निर्माण प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएका छन्। सडक विभागका अधिकारीलाई तत्काल क्षतिग्रस्त क्षेत्रको अध्ययन गरी अस्थायी तथा स्थायी योजनासहित पुनर्निर्माण कार्य अघि बढाउन निर्देशन दिँदै उनले भोटेकोशी नदी र नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिमा प्राथमिकता दिन आग्रह गरे। साथै, बाढी र पहिरोका कारण थप क्षति हुन नदिन वर्षायामभर संरचनाको सुरक्षा र सुरक्षित यातायात सञ्चालन सुनिश्चित गर्न उनले सम्बद्ध निकायसँग समन्वय गर्न पनि निर्देशन दिए।

सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अध्ययनका लागि विभागको टोली खटिसकेको छ। गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाबाट समेत प्राविधिक जनशक्ति परिचालन गरिएको छ। विभागले तत्काल गर्नुपर्ने कार्य सुरु गरिसकेको र दीर्घकालीन पुनर्निर्माण योजना तयार गर्न अन्य निकायहरूसँग समन्वयमा काम भइरहेको जानकारी उनले दिए।