काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा मुलुकको कूल व्यापार घाटा झण्डै १४ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब २३ करोड रुपैयाँ पुगेको हो। सो अवधिमा कुल वस्तु आयात १३.१ प्रतिशतले बढ्दै १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ। भारत, चीन र अन्य मुलुकबाटको आयातमा क्रमशः ७.६, १५.३ र २९.५ प्रतिशतले वृद्धि भएको छ। आयातमा भटमासको कच्चा तेल, चामल, सवारी साधन, स्पेयर पार्टस् लगायतका वस्तु अग्रस्थानमा छन् भने पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरणजस्ता वस्तुको आयात घटेको छ।
सोही अवधिमा कुल वस्तु निर्यात भने उल्लेखनीय रूपमा ७७.८ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा तीन प्रतिशतको गिरावट देखिएको थियो। भारततर्फको निर्यातमा ११२ प्रतिशत, चीनतर्फ तीन प्रतिशत र अन्य मुलुकतर्फ ४.४ प्रतिशतले वृद्धि भएको छ। भटमासको तेल, पोलिस्टर धागो, जुटका सामान, चिया र खोटोको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, तयारी पोशाक, अलैँची र जुसजस्ता वस्तुको निर्यात घटेको देखिएको छ। भन्सार नाकाहरूको आधारमा पनि निर्यात र आयातमा फरक देखिएको छ, जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सारबाहेक अधिकांश नाकाबाट निर्यातमा गिरावट देखिएको छ।