काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गरेको छ । बोर्डले निर्देशिकामा नवौं संशोधन गरेको हो। संशोधित निर्देशिका आगामी साउन १ गतेदेखि लागु हुने छ। संशोधित निर्देशिका अनुसार अब विदेशमा बसी रोजगार गरेका नेपालीहरुलाई छुट्याईएको शेयरका लागि ४ दिन मात्र आवेदन दिन सकिने छ ।
यस अघि यस्तो आईपीओ १५ दिन खुला हुने व्यवस्था थियो। तर केही दिन मै पर्याप्त आवेदन परिसक्ने भएकोले आवेदन दिने अवधि कम गर्न लगानीकर्ताले माग गर्दै आएका थिए। सोहि अनुसार बोर्डले दरखास्त दिन खुला रहने विद्यमान १५ दिनको अवधिलाई परिमार्जन गरी कम्तिमा चार कार्यदिन कायम गरेको हो । ४ दिन भित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा भने आवेदन दिने समय १५ दिन खुला गर्न सकिने छ।