विपन्न वर्गको ऋण पहुँच अझै कमजोर: गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशका विपन्न तथा गरिब जनसंख्याको वित्तीय पहुँच अझै पनि सन्तोषजनक नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित कार्यक्रममा आइतबार बोल्दै गभर्नर पौडेलले विभिन्न समुदाय, विशेषतः गरिबीको रेखामुनि रहेका जनताले अझै पनि सहज रूपमा ऋण पाउन नसकेको उल्लेख गरे।

उनले देशको विविध सामाजिक संरचना र विगतका संकट–भूकम्प र कोभिड–को प्रभाव झेल्दै आएको अवस्थालाई स्मरण गर्दै भने, "हाम्रो देशमा धेरै समुदाय छन्, तर सबैको ऋणमा पहुँच छैन। विपन्न वर्ग अझै महँगो ब्याज तिरेर ऋण लिइरहेका छन्।" उनले साना किसान कार्यक्रमजस्ता प्रयासहरू भइरहे पनि सबै जनतामा समान ऋण पहुँच सुनिश्चित हुन नसकेको स्वीकारे। ऋण प्रवाहका सिद्धान्त राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको उनको भनाइ थियो।