सुनचाँदी व्यवसायीले असार २७ सम्म आन्दोलन जारी राख्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको अतिरिक्त कर खारेज गर्नुपर्ने माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई असार २७ गतेसम्म निरन्तर अघि बढाउने घोषणा गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाभित्र विभिन्न चरणमा विरोध कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।

विरोध कार्यक्रमअनुसार असार २३ गते विज्ञसहितको टिमसँग आन्दोलनको रणनीति तय गर्न छलफल गरिनेछ। त्यसपछि २४ गते उपत्यकाका विभिन्न नगर तथा जिल्लामा बाँकी रहेका विरोध कार्यक्रम सञ्चालन, २५ गते गोष्ठि आयोजना र २६ गते काठमाडौंमा खबरदारी सभा गरिनेछ। व्यवसायीहरूका अनुसार करको अत्यधिक बोझले उनीहरूको व्यवसाय संकटमा परेको छ भने उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएका छन्। यसअघि उनीहरूले पसल बन्द गरी सरकारविरुद्ध प्रदर्शन गर्दै आएका थिए।