राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न  आज ४५ अर्ब निक्षेप संकलन गर्दै

काठमाडौँ । वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज (आईतवार) ४५ अर्ब रुपैयाँ बराबरको दीर्घकालीन निक्षेप संकलन गर्न लागेको छ। निक्षेप संकलन राष्ट्र बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार संरचनात्मक उपकरणमार्फत सञ्चालन हुनेछ। कुल निक्षेप ७० खर्ब नाघेसँगै ब्याजदर सन्तुलनमा राख्न राष्ट्र बैंकले यो कदम चालेको हो। यसअघि पनि यस्तै प्रकृतिको तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

आज हुने बोलकबोलमा 'क', 'ख' र 'ग' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको गुणकमा भाग जाँदा बाँकी नछोडिने गरी बोलकबोल गर्न सकिनेछ। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने सावाँ र ब्याजको भुक्तानी आगामी २०८२ भदौ १ गते गरिनेछ। राष्ट्र बैंकले अनलाइन खरिद प्रणालीमार्फत यो प्रक्रिया सञ्चालन गर्दैछ। बोलकबोल गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्नेलाई प्राथमिकता दिइनेछ।