काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खोल्न लागेको छ। कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिकाभित्रका बासिन्दाका लागि छुट्याइएको छ। अति प्रभावित क्षेत्रमा ६५ प्रतिशत र सामान्य प्रभावित क्षेत्रमा ३५ प्रतिशत शेयर बाँडफाँट गरिनेछ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता शेयर छुट्याइएको छ। न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनको लागि केयर रेटिङ नेपालले कम्पनीलाई “केयरएनपी सिंगल बी” रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ। बुङ्गल हाइड्रोले सञ्चालित १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको लागत ३ अर्ब २ करोड रुपैयाँभन्दा बढी रहेको छ र यसको विद्युत अनुमतिपत्र अझै २६ वर्ष १० महिना बाँकी छ। लगानी फिर्ता हुने साधारण अवधि ९.८५ वर्ष र छुटमा २२.२९ वर्ष रहेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक लगायत स्थानहरुबाट आवेदन दिन सक्नेछन् भने विदेशमा रहेका नेपालीले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।