३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै नेपाल एसबिआई बैंक

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ नामक ऋणपत्र असार ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। १० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याज दर निर्धारण गरिएको छ। प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा कूल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) व्यक्तिगत तवरबाट र ४० प्रतिशत (१२ लाख कित्ता) सर्वसाधारणका लागि खुला गरिएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्काशन साउन १ गते छिटो र साउन १२ गते ढिलोमा बन्द हुनेछ।

ऋणपत्र बिक्री तथा निष्काशन व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताले ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी वा सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए’ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने उच्च क्षमता दर्शाउँछ। ऋणपत्रमा प्राप्त ब्याज रकम प्रत्येक आर्थिक वर्षको दुई अर्धवार्षिक अवधिपछि कर कटौती गरी भुक्तानी गरिनेछ।