काठमाडौँ । माबिलुङ्ग इनर्जी लिमिटेडले आज असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न लागेको हो, जुन कम्पनीको जारी पूँजीको ४८.९९९८ प्रतिशत हो। यसको मूल्य १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबर पर्छ। यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता शेयर छुट्याइएको छ, जसको बिक्री न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म हुनेछ। स्थानीय बासिन्दाले साउन ४ गतेदेखि ढिलोमा साउन १९ गतेभित्र आवेदन दिन सक्नेछन् भने उनीहरूले २ रुपैयाँ दरखास्त शुल्क तिर्नुपर्नेछ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि १ लाख ५० हजार ४७१ कित्ता शेयर निष्काशन गरिएको छ। उनीहरूले साउन ४ गतेभित्र आवेदन दिनुपर्नेछ। कम्पनीले सञ्चालनमा ल्याएको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ। इक्रा नेपालले यस आईपीओलाई “इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी प्लस” प्रदान गरेको छ, जसले औसत स्तरको जोखिम संकेत गर्दछ। यस आईपीओको शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। आवेदन सम्बन्धी सुविधा ग्लोबल आइएमई, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक लगायत विभिन्न स्थानमा उपलब्ध हुनेछ भने विदेशमा रहेका नेपालीले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।