काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिन आज असार २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। सर्वसाधारणका लागि कम्पनीले कुल २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित गोरखाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी शेयर निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत वैशाख १६ गते आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने योजना ल्याएको छ, जसको कुल मूल्य ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबर हुन्छ।
विकास हाइड्रोपावरले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ मा रहेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ र २०७९ फागुनदेखि विद्युत उत्पादन गरिरहेको छ। हाल कम्पनीमा खग्रेन्द्र न्यौपानेको १४ प्रतिशत, कृष्ण प्रसाद घिमिरेको ८ प्रतिशत, सरोज धितालको ८ प्रतिशत, राजकुमार गुरुङको ७ प्रतिशत, इन्द्र बहादुर ढकालको ५ प्रतिशत र सुनिल श्रेष्ठको ४ प्रतिशत शेयर स्वामित्व रहेको छ।