काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको बलियो आधारको रूपमा वर्णन गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समृद्धिका लागि पर्यटन क्षेत्र एक शक्तिशाली विकल्प भएको उल्लेख गरे। ‘हामीसँग समृद्धिका लागि धेरै विकल्प छन्, तीमध्ये पर्यटन एक प्रभावशाली र सम्भावनायुक्त क्षेत्र हो,’ उनले भने, ‘यस क्षेत्रमा क्रमशः लगानी प्रवर्द्धन गर्नुपर्छ।’
उनले देशभित्रको साथै विदेशी लगानी आकर्षित गर्न राज्यले सक्रिय भूमिका खेलिरहेको बताए। ‘राज्यको लगानी मात्रै पर्याप्त हुँदैन, निजी क्षेत्रलाई पनि आह्वान गर्नुपर्छ,’ उनले भने, ‘नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आवश्यक पर्छ। बजेट निर्माणमा पनि यो दृष्टिकोण समेटिएको छ।’