बागमती प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु

काठमाडौँ । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि औपचारिक छलफल सुरु भएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले असार १ गते प्रस्तुत गरेको रु. ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेटमाथि आजबाट छलफल प्रारम्भ भएको हो। उक्त बजेट आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रस्ताव गरिएको हो।

आजको बैठकमा २६ जना प्रदेशसभा सदस्यहरूले भाग लिँदै बजेटमाथि आ-आफ्ना धारणा प्रस्तुत गरे। उनीहरूले बजेट जनताको चाहना र प्रदेशको आवश्यकता अनुसार नआएको भन्दै सच्याउनुपर्ने आवश्यकता औंल्याए।

बैठकमा मन्त्री काफ्लेले "आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने व्यवस्था गर्न बनेको विधेयक" सभा समक्ष पेस गरेका थिए। उक्त विधेयक छलफलका लागि सभामा सर्वसम्मतले स्वीकृत गरिएको सभामुख भुवनकुमार पाठकले घोषणा गरे। बजेटमाथिको छलफल भोलि पनि जारी रहनेछ भने प्रदेश सभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।