विकास हाइड्रोपावरले भोलिबाट सर्वसाधारणलाई आईपीओ जारी गर्ने

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि असार १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि जेठ ६ देखि २० गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा आईपीओ निष्कासन गरिसकेको थियो, जसको बाँडफाँड असार ५ गते सम्पन्न भएको हो। नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले आफ्नो जारी पूँजीको ५९ प्रतिशत बराबरका ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँको दरले निष्कासन गर्न लागेको हो।

जसअन्तर्गत १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोष र ७० हजार ९१० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा असार २२ गते बन्द हुनेछ, तर आवश्यक आवेदन नपरेमा असार ३२ गतेसम्म अवधि लम्बिन सक्नेछ। प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यो आईपीओमा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।