चीनमा रहेका नेपालीलाई मन्त्री खड्काले भने: ऊर्जा क्षेत्रमा लगानी गर्नुहोस्

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चीन भ्रमणका क्रममा बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकन गर्दै त्यहाँ रहेका नेपाली समुदायलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। उनले सरकारले लगानीको वातावरण तयार गरिसकेको र सुरक्षा सुनिश्चित गरिने प्रतिबद्धता जनाउँदै, जलस्रोतमा अपार सम्भावना रहेको नेपाललाई ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबैले हातेमालो गर्नुपर्ने बताए।

मन्त्री खड्काले सन् २०३५ सम्ममा २८,५०० मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहित १५,००० मेगावाटभन्दा बढी बिजुली भारत र तेस्रो मुलुकमा निर्यात गर्ने योजना स्पष्ट पारे। हाल नेपालले बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिरहेको र आगामी वर्षमा सो परिमाण बढाउने समेत जानकारी दिए। उनले जलस्रोत तथा विद्युत् विधेयक छिट्टै पारित भई नीतिगत अस्पष्टता हटाउने र ऊर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गर्दै सरकार स्पष्ट योजना अनुसार अघि बढिरहेको उल्लेख गरे।