काठमाडौँ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तावित आर्थिक विधेयकमा करको नीति र दरहरूमा स्थिरता कायम गर्ने प्रयास गरिएको स्पष्ट पारेका छन्। शनिबार प्रतिनिधि सभामा विधेयकमाथि भएको छलफलमा बोल्दै उनले उद्योगी, व्यवसायी र करदाताबीचको अस्थिरता र अनिश्चितता हटाउन आवश्यक ठाउँमा मात्र संशोधन गरिएको बताए। मदिरा, सुर्तीजन्य वस्तुमा उच्च अन्तःशुल्क, वैदेशिक शिक्षा शुल्क, हरित कर, प्रदूषण करजस्ता प्रस्तावहरूको स्पष्टिकरण दिँदै उनले यी करहरूले राजस्वमा मात्र नभई जनस्वास्थ्य, वातावरण र दीगो विकासमा समेत योगदान पुर्याउने दाबी गरे।
उनले मनि लाउण्डिङ नियन्त्रण, कर छली रोकथाम तथा क्यासिनो व्यवस्थापनका विषयमा समेत विधेयकले प्रष्ट नीति लिएको बताए। सुनमा प्रस्तावित विलासिता शुल्क सम्बन्धमा १० लाखको थ्रेसहोल्ड हटाइएको उल्लेख गर्दै त्यो व्यवहारमा हुने दुरुपयोग रोक्न गरिएको निर्णय भएको स्पष्ट गरे। आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित विकासलाई प्राथमिकता दिँदै उद्योग, उत्पादन र लगानी प्रवर्द्धनका लागि छुट तथा सहुलियतका प्रबन्ध विधेयकमा समेटिएको उनले जनाए। सांसद्हरुले उठाएका संशोधन प्रस्तावहरू भने अस्वीकृत भएका छन्।