माबिलुङ्ग इनर्जीले असार २२ देखि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्दै

काठमाडौँ । माबिलुङ्ग इनर्जी लिमिटेडले आगामी असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत हिस्सा अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो।

यसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता शेयर छुट्याइएको छ, जुन संखुवासभा जिल्लाको मादि नगरपालिका–७, ८, ९ र चैनपुर नगरपालिका–२, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्नेले आवेदन दिन सक्नेछन्।

साथै, विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५० हजार ४७१ कित्ता शेयर निष्काशन गरिँदैछ। उनीहरुले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्। आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि भने आवेदनको अन्तिम म्याद साउन ४ गतेदेखि साउन १९ गतेसम्म हुनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस शेयर निष्काशनको रेटिङ्गमा इक्रा नेपालले माबिलुङ्ग इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजना सम्पन्न गर्न कुल लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाको विद्युत अनुमति अवधि ३१ वर्ष बाँकी छ। लगानी फिर्ताको अवधि ९.४३ वर्ष र छुट रकममा १७.०९ वर्ष रहने अनुमान गरिएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीयले आवेदन ग्लोबल आइएमई बैंक (चैनपुर), हिमालयन बैंक (मादि), लक्ष्मी सनराइज बैंक (खाँदबारी) तथा आयोजनास्थल मादि नगरपालिका–७ मा दिन सक्नेछन्। दरखास्त फाराम शुल्क २ रुपैयाँ रहेको छ।

विदेशमा रहेका नेपालीहरुले भने धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।