काठमाडौँ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। पहिरोका कारण केही समय अवरुद्ध रहेको विद्युत उत्पादन बिहीबारदेखि चौबिसै घण्टा पुनः सुरु भएको आयोजनाका प्रबन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिएका छन्।
गत वर्ष असोज ११ गतेको पहिरोले आयोजनाका दुवै बालुवा थिग्र्याउने पोखरी, विद्युत् नियन्त्रण कक्ष तथा कल्भर्टमा ठूलो क्षति पुर्याएको थियो। सो दुर्घटनामा दुई जना कर्मचारी र दुई जना नेपाली सेनाको ज्यान गएको थियो। यस कारण करिब तीन महिनासम्म आयोजनाबाट विद्युत उत्पादन रोकिएको थियो।
हाल प्राथमिक मर्मत कार्य सम्पन्न भएसँगै विद्युत उत्पादन फेरी निरन्तर गरिएको छ। यद्यपि, बालुवा थिग्र्याउने दुवै पोखरीको पूर्ण मर्मत कार्य सकिन अझै करिब ४५ दिन लाग्ने अनुमान गरिएको छ।
आयोजनाले अब बाँधमा आवश्यक मात्रामा पानी भरेर आगामी असोजसम्म निरन्तर रुपमा ४५६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। पहिरोबाट भएको क्षतिको क्षतिपूर्ति स्वरूप आयोजनाले सिभिल र इलेक्ट्रो-मेकानिकल उपकरणमा भएको क्षतिका लागि करिब १ अर्ब ८० करोड रुपैयाँ बराबरको बीमा दाबी समेत गरेको छ।
यो आयोजनाबाट पुनः सुरु भएको निरन्तर विद्युत आपूर्तिले राष्ट्रिय प्रसारण प्रणालीमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।