आँप बजारीकरणका लागि विशेष म्याङ्गो फेस्ट आयोजना हुँदै

 काठमाडौँ । नेपाली आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट–२०२५ आयोजना हुने भएको छ। असार १३ गते (जुन २७) देखि सुरु हुने यो विशेष उत्सवमा नेपाली आँपका विविध स्वाद, रङ र सांस्कृतिक पक्षलाई एकै ठाउँमा अनुभव गर्न सकिने आयोजक संस्थाहरूले जनाएका छन्।

फेस्टिभलको औपचारिक उद्घाटन कार्यक्रम असार १३ गते दिउँसो १ बजे काठमाडौंको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा हुनेछ। उक्त समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

फेस्टिभलको उद्देश्य

यो उत्सव विशेषगरी तराई मधेश क्षेत्रमा उत्पादन हुने नेपाली आँपहरूको विविधता र मूल्य शृंखला प्रवर्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको हो। नेपाली आँपको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान विस्तार, स्थानीय कृषकहरूको आम्दानी वृद्धि तथा प्राकृतिक र विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच सुनिश्चित गर्नु फेस्टिभलको मूल उद्देश्य रहेको छ।

आयोजक संस्था

कार्यक्रमको आयोजना काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिङ्स को सहकार्यमा गरिएको हो।

कार्यक्रमका प्रमुख आकर्षण

१० भन्दा बढी प्रजातिका आँपहरूको प्रदर्शनी

५ भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट खरिदको व्यवस्था (जस्तै: माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया)

२०+ आँप आधारित परिकार तथा पेय पदार्थहरू सहभागी रेस्टुरेन्टहरूबाट


म्याङ्गो गेमहरू र इन्गेजिङ गतिविधिहरू सबै उमेर समूहका लागि

स्थान र समय

फेस्टिभल तीन दिनसम्म निम्न तीन स्थानमा एकैसाथ सञ्चालन हुनेछ:

वाल्नट बिस्ट्रो – लाजिम्पाट

एचटुओ क्याफे – स्वयम्भू

वाटरिङ होल – झम्सिखेल

यी रेस्टुरेन्टहरूमा विशेष म्याङ्गो मेनुहरू र आँप-सम्बन्धी रेसिपीहरू प्रस्तुत गरिनेछ।

यो म्याङ्गो फेस्टिभल नेपाली कृषि, स्वाद र संस्कृतिको उत्सवका रूपमा स्थापित हुन गइरहेको छ, जसले उपभोक्ता र किसानबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ।