गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक : ४५ तोला सुन, १५ लाखको हिरा र ७ कम्पनीमा भारी लगानी
काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको औपचारिकता अनुसार सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गभर्नर भएपछि र कार्यकाल सकिएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार उनले यो विवरण सार्वजनिक गरेका हुन्।

डा. पौडेलले आफू र पत्नी प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार, ललितपुर र नवलपरासीको गैडाकोटमा रहेको दुईवटा घर उनकी श्रीमतीको नाममा छन्। त्यस्तै, ललितपुरमा रु १ करोड ५५ लाख र गैडाकोटमा रु ६० लाख मूल्यको जग्गा खरिद गरिएको उल्लेख गरिएको छ, जुन दुवै जग्गा पनि श्रीमतीको नाममा छन्।

सम्पत्ति विवरणमा डा. पौडेलले ४५ तोला सुन र १५ लाख बराबरको हिरा रहेको उल्लेख गरेका छन्। साथै, उनी शेयर बजारमा समेत सक्रिय रहेका छन्।

उनको सानिमा बैंकमा २ लाख ४४ हजार १७६ कित्ता संस्थापक शेयर, सानिमा माई हाइड्रोमा संस्थापकबाट साधारणमा परिणत ९२ हजार ५७९ कित्ता शेयर, र सानिमा मिडिल तमोर हाइड्रोमा १ लाख ८८ हजार कित्ता संस्थापक शेयर छन्।

त्यस्तै, ग्लोबेको प्रालिमा १ लाख ८६ हजार ८३४ कित्ता, संयुक्त उर्जा हाइड्रोमा ५ लाख कित्ता, र चितवन इनर्जीमा २ लाख ५० हजार कित्ता शेयर रहेको उल्लेख छ। उनकी श्रीमतीको नाममा ग्लोबेको प्रालिका ७५ हजार कित्ता शेयर छन्। साथै, उनले श्रीमतीको नाममा ४४ लाखमा खरिद गरिएको सुजुकी कार रहेको विवरण पनि सार्वजनिक गरेका छन्।