काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ। कार्यालयले पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गर्न रु १ खर्ब ७४ अर्ब ९ करोड खर्चिएकोमा त्यसबाट मात्र रु ७३ अर्ब १८ करोड राजस्व उठाएको हो। भन्सारबाट आयात गरिएका मुख्य २० वस्तुहरूमध्ये पेट्रोलियमको हिस्सा कुल राजस्वको ४६.४३ प्रतिशत रहेको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार कार्यालयको राजस्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ र सवारीसाधनसँग सम्बन्धित वस्तुहरू हुन्। सवारीसाधन तथा तिनका पार्टपुर्जाबाट दोस्रो सबैभन्दा धेरै राजस्व रु १७ अर्ब ७० करोड संकलन भएको छ, जसको हिस्सा ११.२३ प्रतिशत छ।
अन्य प्रमुख वस्तुहरूमा फलाम तथा फलामजन्य सामग्रीबाट रु ५ अर्ब ७८ करोड, मेसिनरी तथा पार्टपुर्जाबाट रु ५ अर्ब २६ करोड, इलेक्ट्रिक उपकरण तथा पार्टपुर्जाबाट रु ३ अर्ब ६७ करोड राजस्व प्राप्त भएको छ। त्यसैगरी, कपडा आयातबाट रु ३ अर्ब ६ करोड, सुर्ती तथा सुर्तीजन्य पदार्थबाट रु २ अर्ब ५८ करोड, शृङ्गार सामग्रीबाट रु २ अर्ब ५२ करोड, प्लास्टिकका कच्चा पदार्थबाट रु २ अर्ब ३२ करोड र अन्य लुब्रिकेटिङ्ग आयलबाट रु २ अर्ब १९ करोड राजस्व संकलन भएको प्रमुख प्रशासक लामिछानेले जानकारी दिए।