प्रतिनिधिसभाको बैठक आज, विनियोजन विधेयक पारित हुँदै; टेक एण्ड पे व्यवस्था संशोधन हुने

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। साथै बैठकमा ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि पनि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरिने तालिका रहेको छ।

यसअघि बैठकमा श्रम, गृह, सञ्चार, अर्थ, सहरी विकास मन्त्रालय लगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र राष्ट्रपतिको तथा उपराष्ट्रपतिको कार्यालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ।

सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, रेखा शर्मा लगायतका सांसदहरूले पेस गरेका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।

टेक एण्ड पे व्यवस्था संशोधन हुने

बजेटमा उल्लेख गरिएको नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको पीपीए (Power Purchase Agreement) टेक एण्ड पे आधारमा गर्ने व्यवस्था हटाइने भएको छ। विद्युत खरिदबिक्री माग र आपूर्तिको आधारमा हुने गरी नयाँ संशोधन प्रस्ताव गर्न सत्तारुढ प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन्। जलविद्युत प्रवर्द्धकहरूबाट आएको विरोधपछि उक्त व्यवस्था संशोधन हुने तय भएको हो।