तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ६० अर्ब बजारबाट खिच्दै

बजारमा बढ्दो तरलता प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले आज, असार ८ गते आइतबार ६० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागमार्फत ४२ दिन अवधिको लागि यो रकम बोलकबोल प्रणालीमार्फत संकलन गरिनेछ।

यस निक्षेप संकलन बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन सक्नेछन्। बोलकबोल ब्याजदरमा गरिनेछ, जसमा बहुब्याजदरमा बहुबोल पनि गर्न सकिने व्यवस्था छ। आवेदन दिने वित्तीय संस्थाले जम्मा गर्न चाहेको रकम र ब्याजदर (चार दशमलव अङ्कसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत आज अपरान्ह ३ बजेभित्र आवेदन दिनुपर्नेछ। न्यूनतम १० करोडदेखि ५ करोडको गुणात्मक भागमा बाँडिने गरी अधिकतम रकमसम्म आवेदन गर्न सकिनेछ।

प्राप्त बोलकबोल प्रस्तावको आधारमा राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ वा सोभन्दा बढी वा कम रकम पनि संकलन गर्न सक्नेछ। बोलकबोलको मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइनेछ। समान ब्याजदर भएका प्रस्तावहरूबाट रकम बढी भएमा Pro-rata आधारमा बाँडफाँड गरिनेछ। निक्षेप संकलन राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न प्रयोग गर्ने एक मौद्रिक उपकरण हो। यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि बोलकबोलको माध्यमबाट निक्षेप संकलन गरिन्छ, जसले तरलता घटाउन सहयोग पुर्याउँछ।

संकलित निक्षेप रकमलाई बैंकको अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइँदैन। तर, सो रकम SLR र Liquidity Ratio मा समावेश गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।