दुई बैंकले पाए ऋणपत्र निष्कासनको अनुमति

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डले दुई बैंकलाई कुल ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गर्ने अनुमति दिएको छ। बोर्डले शुक्रबार नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो। नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ नाममा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ, जसको अवधि १० वर्षको हुनेछ। वार्षिक ७ प्रतिशत ब्याजदर रहने यो डिबेन्चर ३० लाख इकाइमा विभाजित हुनेछ, जसमा १८ लाख इकाइ निजी संस्थागत लगानीकर्तालाई र १२ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। यस ऋणपत्रको बिक्री व्यवस्थापन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।

त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ। १ हजार रुपैयाँ अंकित दरमा कुल १० लाख इकाइमध्ये ६ लाख इकाइ निजी लगानीकर्तालाई र ४ लाख इकाइ सर्वसाधारणलाई खुला गरिनेछ। यो ऋणपत्र पनि १० वर्षे अवधिको हुनेछ, जसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। शाइन रेसुंगाको ऋणपत्र बिक्री व्यवस्थापन एनआईएमएस क्यापिटल लिमिटेडले गर्नेछ।